एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
आश्विन २४, २०८३

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले शुक्रबार दुवै पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले आदेशको पुष्टि गरेका छन्।
एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता, खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरको अनुसन्धानपछि अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डेलाई पक्राउ गरेको थियो। अदालतले शुक्रबार जोशीलाई १५ लाख रुपैयाँ र पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनीहरूलाई गत असोज २ गते एन्फाको सातदोबाटोस्थित मुख्यालयबाट पक्राउ गरेको थियो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पत्राचार तथा प्राप्त उजुरीका आधारमा सिआईबीले एन्फाका पदाधिकारीमाथि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा ब्युरोले एन्फा मुख्यालयबाट आवश्यक कागजात, कम्प्युटर र ल्यापटपसमेत नियन्त्रणमा लिएर छानबिन गरेको थियो।
बहराइनमा खेल, २० हजार अमेरिकी डलरको हिसाबमाथि प्रश्न
एन्फाका पदाधिकारीमाथि अनुसन्धान हुनुको एउटा प्रमुख विषय सन् २०२४ मा नेपाल र बहराइनबीच भएको फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट खेलसँग सम्बन्धित छ। छनोटको होम एन्ड अवे प्रणालीअनुसार नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेलसमेत बहराइनमा आयोजना भएको थियो।
अनुसन्धानका क्रममा बहराइन फुटबल संघबाट टिकट बिक्रीबापत एन्फाले पाउनुपर्ने भनिएको २० हजार अमेरिकी डलरको हिसाबमाथि प्रश्न उठेको छ। उक्त रकम एन्फाको संस्थागत खातामा जम्मा नभएको विषयमा अनुसन्धान भइरहेको छ। नेपालले बहराइनसँगका दुवै खेल त्यहीँ खेलेको थियो।

